मानव तस्करीमा मुछिएमा एमाले नेता अधिकारीको ३३ किलो सुन तस्करीमा पनि कनेक्सन !

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते ९:१७ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– मानव तस्करीमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं एमाले मोरङका नेता लिलाबल्लभ अधिकारीको विगत पनि विवादित थियो ।

उनी यसअघि ३३ किलो सुन तस्करी प्रकरणमा विवादमा आएका थिए । कानून व्यवसायी पृष्ठभूमिका अधिकारीले अधिवक्ताका रुपमा सुन तस्करीका नाइके गोरे भनिने चुणमणि उप्रेतीको पक्षमा बहस मात्र गरेनन्, उनलाई निर्दोष साबित गर्न अनेक हर्कत गरे ।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा गोरेका पक्षमा अदालतलाई प्रभावमा पार्ने प्रयासदेखि राजनीतिक हस्तक्षेपसमेत गरेको विषय त्यतिखेर सतहमा आएको थियो ।

शाक्य हत्या प्रकरणमा गोरेका तर्फबाट बहस गरेका अधिकारीलाई  तत्कालीन पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता शेरधन राईले स्पष्टीकरण सोधेका थिए । त्यति मात्र होइन, गम्भीर अपराधमा संलग्नको बचाउमा लागेको भन्दै शेरधनले एक वर्षसम्म प्रदेशसभामा अधिकारीलाई बोल्न प्रतिबन्ध लगाएका थिए ।

प्रभावशाली व्यक्तिहरुको संलग्नताका कारण तस्करीमा संलग्न मुख्य गिरोह पक्राउ परिसक्दा पनि ३३ किलो सुन कहाँ गयो भन्ने अझै रहस्यको विषय बनेको छ ।

पछिल्लो समय उनी मानव तस्करको गिरोहसँग साँठगाँठ गरी जापान गएको खुलासा भएको छ । यो उनीमाथि अरुले लगाएको आरोप होइन । बुधबार मुख्यमन्त्री हिक्कत कार्कीलाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनी स्वयंले स्वीकार गरे ।

अधिकारी एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश सभा (२) बाट दोस्रोपटक निर्वाचित भएका हुन् । संघ र प्रदेश सरकारलाई जानकारी नै नदिई सुटुक्क मानव तस्कर समूहसँग जापान गएको विषय बाहिर आएपछि उनले नैतिकताका आधारमा भन्दै राजीनामा दिए ।

आफू झुक्किएर मानव तस्करसँग जापान गएको राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा अधिकारी स्वयंले स्वीकार गरे । ‘ मेरो निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणी बाहिर आयो’, उनले भने, ‘अहिले राजनीतिमा नैतिकताको खडेरी छ । यस्ता टीकाटिप्पणी सुनिसकेपछि पदमा बसिरहन उचित लागेन । प्रश्न उठेपछि छानबिनका लागि सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको छु ।’

मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको भए पनि थाहा पाएपछि विमानस्थलबाटै फर्किएको दाबी अधिकारीले गरे । मानव तस्कर गिरोहको गिरोहले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us