पार्टीका मन्त्री मानव तस्करीमा मुछिँदा किन बोल्दैन एमाले ?

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते ९:१० मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– मानव तस्करीको घटनासँग जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिए ।

संघ र प्रदेश सरकारलाई जानकारी नै नदिई सुटुक्क मानव तस्कर समूहसँग जापान गएको विषय बाहिर आएपछि उनले नैतिकताका आधारमा मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

आफू झुक्किएर मानव तस्करसँग जापान गएको राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा अधिकारी स्वयंले स्वीकार गरे । ‘ मेरो निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणी बाहिर आयो’, उनले भने, ‘अहिले राजनीतिमा नैतिकताको खडेरी छ । यस्ता टीकाटिप्पणी सुनिसकेपछि पदमा बसिरहन उचित लागेन । प्रश्न उठेपछि छानबिनका लागि सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको छु ।’
मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको भए पनि थाहा पाएपछि विमानस्थलबाटै फर्किएको दाबी अधिकारीले गरे । मानव तस्कर गिरोहको गिरोहले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको पनि उनले बताए ।
तर यति गम्भीर विषय बाहिर आउँदा पनि उनको दल एमाले मौन छ । यसबारे पार्टीको आधिकारिक धारणाका लागि सम्पर्क गर्दा एमाले नेताहरु बोल्न चाहँदैनन् । केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आफ्नै पार्टीका मन्त्री जोडिएको मानव तस्करीको विषयबारे बोल्न इन्कार गरे । ‘बुझ्ने काम हुँदैछ । मिडियामा आएका विषयका आधारमा मात्र धारणा बनाउनु उचित नहोला’, उनले भने ।

मुख्यमन्त्री कार्कीले पनि आफ्ना मन्त्री मानव तस्करीजस्तो गम्भीर अपराधमा जोडिएको विषयमा बोल्न चाहेनन् । ‘मलाई धेरै कुरा थाहा भएन । उहाँले राजीनामा दिनुभयो । मैले स्वीकृत गरे’, कार्की भन्छन् ।

पार्टीका सांसद र मन्त्री मानव तस्करीजस्तो गम्भीर अपराधमा मुछिएको विषयमा एमालेले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । सामाजिक सञ्जालमा मानव तस्करको संरक्षण गरेको भन्दै एमाले नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us