मानव तस्करसँग जापान गएर गल्ती भयोः एमाले नेता अधिकारी

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १८:५६ मा प्रकाशित

विराटनगर, २१ कात्तिक- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले आफू मानव तस्करसंगै जापान गएको गम्भीर खुलासा गरेका छन् ।

अनुमतिबिना जापान गएपछि विवादमा आएका अधिकारीले बुधबार राजीनामा दिए ।

मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेका उनले मानब तस्कर समूहसंगै जापान गएको स्वीकार गरे । आफूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्दै अधिकारीले भने, ‘यसबारे छानबिनका लागि सहज होस् भनेर मैले नैतिकताका आधारमा राजीनामा दिएको छु।’

मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको भए पनि थाहा पाएपछि विमानस्थलबाटै फर्किएको दाबी उनको छ ।

मानव तस्कर गिरोहको गिरोहले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको  पनि उनले बताए ।

घटनामा संलग्न ७ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)  पक्राउ गरिसकेको जानकारी पनि अधिकारीले दिए ।

आफूलाई टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा निम्त्याइएको र हङकङ पुगेपछि मात्र मानव तस्कर गिरोहबारे थाहा पाएको दाबी गरे ।

जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई आफूसँगै गिरोहले जापान छिराउन लागिएको खुलेको उनले बताए ।

‘उनीहरूसँग मन्त्रालयको नक्कली कार्डसमेत रहेछ,’ अधिकारीले भने, ‘तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ । म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन् ।’ 

नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङकङबाट जापान उडाउन खोजेको र हङकङ एयरपोर्टमा पुगेपछि मात्र उक्त कुरा थाहा पाएको उनले उल्लेख गरे ।

अधिकारी एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश सभा (२) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।

सुन तस्करको पक्षमा बोलेर उनी यसअघि पनि विवादमा परेका थिए ।

कानुन व्यवसायीसमेत रहेका अधिकारीले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चुडामणि उप्रेती गोरे समूहका तर्फबाट अदालतमा बहस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us