काठमाण्डु, २० कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । उनले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन ।
सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको पनि उनले बताएका छन ।
संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन समेत दिएका छन ।
राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन पनि दिएका छन ।
अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने पनि बताएका छन ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।