पोखरा, २० कात्तिक– सहकारी ठगी र संगठित अपराध कसुर छानबिनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तेश्रोपटक आज फेरि म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।
२ कात्तिकमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
६ असोजमा पक्राउ परेका गोर्खा मिडियाका अर्का सन्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ ।
कास्की जिल्ला अदालतले लामिछानेको यसअघि पहिलोपटक ६ दिन दोश्रोपटक ७ दिन म्याद थप गरेको थियो । पछिल्लोपटक थपिएको म्याद १४ कात्तिकमा सकिएको छ । बीचमा तिहार बिदा परेका कारण लामिछानेलाई मंगलबार मात्र अदालतमा उपस्थित गराउन लागिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक प्रमाण र कागजात जुटाउन समय लागेकाले अनुसन्धान लम्बिएको जनाएको छ ।
मंगलबार २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका लागि लामिछानेलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।
संगठति अपराधका आरोपीलाई ६० दिन र सम्पत्ति शुद्धीकरण कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानूनी व्यवस्था छ ।