काठमाण्डु, १९ कात्तिक– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लक्ष्य निर्धारण गर्नुपर्ने बताएकी छन् ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकासको लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताइन् । अहिलेको पुस्ताले १०० वर्ष पछिसम्म थेग्ने निर्माण कार्य गर्नुपर्ने भएपनि अहिलेको निर्माण कार्य तदर्थवादमा नै बढी चलिरहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
दिगो विकासका लक्ष्यबारे जनतालाई पनि जानकारी गराउनुपर्नेमा राज्यको तर्फबाट ती काम हुन नसकेको भण्डारीको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले यस अघि कस्तो खालको परिस्थिति थियो भन्नेकुराको मूल्यांकन गरी १०० वर्षपछिका लागि हुनेगरी दिगो विकासका लक्ष्य निर्धारण गर्नुपर्ने बताएकी छन् ।
भण्डारीले दिगो विकास गर्ने भइसकेपछि वनजंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ, नदीनालाहरूको लागि कति ठाउँ चाहिन्छ भन्ने कुराको पहिला नै योजना बनाएर जनतालाई जानकारी दिनुपर्ने बताइन् ।
उनले प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका काम अघि बढाउनुपर्ने बताइन् । सहरीकरण कस्तो ठाउँमा गर्ने रु भन्नेकुरामा जनता र राज्यको ध्यानाकर्षण हुन आवश्यक रहेको उनको भनाइ छ ।
राज्यका निकायहरूले निर्माण कार्य गर्दा तत्कालका समस्या समाधान गर्ने ध्याउन्न राख्दा विकासको दिगो लक्ष्य लिएर अगाडि बढ्न नसकिएको भण्डारीको भनाइ छ । तत्कालका समस्या मात्रै नभई सयौं वर्षसम्म टिक्ने योजनासहित निर्माण कार्यमा लाग्नुपर्ने उनको भनाइ छ ।
‘राज्यको तर्फबाट पनि दिगो विकासका लक्ष्यहरू भनिएको छ । दिगो विकासका लक्ष्यहरू निर्धारण गर्नुपर्छ । १०० वर्षअघि कस्तो खालको परिस्थिति थियो, कस्तो भूकम्प आएको थियो, कस्तो बाढी गएको थियो, कस्तो पहिरो गएको थियो, कस्तो महामारी फैलिएको थियो । हामी यो पुस्ताले १०० वर्ष पछिसम्म थेग्नेगरी निर्माण कार्य गर्नुपर्छ, तर अहिले तदर्थवादमा नै बढी चलिरहेको छ’, भण्डारीले भनिन्, ‘दिगो विकास गर्ने भइसकेपछि हामीले हरेक कुरालाई वनजंगल कति चाहिन्छ, सार्वजनिक जग्गा कति चाहिन्छ, सार्वजनिक बाटोका लागि कति ठाउँ चाहिन्छ । नदीनालाहरूको लागि कति ठाउँ चाहिन्छ यस्तो कुराको पहिला नै हिसाबकिताब हुनुपर्छ । त्यो योजना जनतालाई पहिला नै दिनुपर्छ । जनताले त्यो थाहा पाउनुपर्छ । त्यसो भएमात्रै मानव जीवनलाई सुरक्षा प्रदान गर्नसक्छौँ ।’
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देशमा पर्ने भएको कुरा विकास निर्माणका त्यसको आँकलन गर्नुपर्ने भण्डारीको भनाइ छ ।
पृथ्वीको तापक्रम अत्याधिक बढेको र त्यसले गर्दा संकट आइरहेको उनको भनाइ छ ।
भण्डारीले भनिन्, ‘हाम्रो देशको प्राकृतिक बनावट जुन छ, यहाँ हुने जुन खालका प्राकृतिक प्रकोपहरू छन्, त्यसबाट मानव जीवनलाई कसरी सुरक्षित गर्न सकिन्छ, जीवन रक्षा नै हाम्रो प्रथम दायित्व भएको हुँदा सुरक्षित बस्ती विकास गर्ने, कुनैपनि निर्माण कार्य गर्दा दिगो विकासको दृष्टिले र भविष्यमा निर्माण कार्यबाट हामीलाई संकट पनि नआओस्, त्यो निर्माण कार्य सुरक्षित होस् र मानव जीवन भयावह स्थितिबाट जोगिने खालको वातावरण निर्माण गर्न हामीले काम गर्नुपर्छ ।’
मानिसको जीवनचक्रमा जोडिएर आउने प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर विकास निर्माणका कार्य गर्नुपर्ने भण्डारीको भनाइ छ ।
उद्धार, राहतको लागि तत्काल व्यवस्था गर्ने संयन्त्र बनाउनुपर्ने पनि उनले बताइन् ।