प्रधानमन्त्री-मन्त्रीसँग गरेको भेटघाट र म्यासेजलाई अनुमतिबिना प्रचार गरियो, कारबाही गरियोस्ः डिपी आर्यल

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १५:५८ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी आर्यलले अनुमतिबिना आफ्नो निजी टेलिफोन संवादको विषय प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । उपसभापति अर्यालले केही दिन यता प्रधानमन्त्री, मन्त्रीसँग गरेको भेटघाट र म्यासेजलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति आपत्ति व्यक्त गरेका हुन ।

पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगि प्रकरणमा कात्तिक २ गते पक्राउ परेपछि रास्वपाले नियमित सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ । राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपाका नेता तथा कार्यकर्ता विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

सरकार विरुद्ध निरन्तर आन्दोलन भइरहेकै बेला रास्वपाका उपसभापति डिपी आर्यल र प्रमूख सचेतक सन्तोष परियार गत सोमबार मध्येराति प्रधानमन्त्री ओलीलाई बालुवाटार भेट्न गएका थिए । उपसभापति अर्याल र सचेतक परियारले प्रधानमन्त्री ओलीलाई भेट्नु पहिले डिपी आर्यलले गृहमन्त्री रमेश लेखकसँग एक्लै भेट गरेका थिए । र, परराष्ट्रमन्त्री आरजु राणालाई भेट्न समय मिलाउन भन्दै म्यासेज गरेको विषयले सामाजिक सञ्जालमा अनेकन टिकाटिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीसँग राजनीतिक सम्झौता गरेर सरकारी ठगि प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई हिरासतमुक्त गर्न खोजिएको कतिपयको भनाइ छ । दिनमा सरकारविरुद्ध चर्को आन्दोलन र नाराबाजी गर्ने रातिराति रवि लामिछानेलाई रिहा गर्नका लागि हारगुहार माग्दै प्रभानमन्त्री र गृहमन्त्रीसँग भेट गरेको आरोप लागिरहँदा बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उपसभापति अर्यालले पार्टी सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेताहरुसँग छलफल गर्नु आफ्नो जिम्मेवारी भएको बताए ।

पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गर्न कसैलाई नभेटको बताउदै उनले रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो भन्ने विषयमा छलफल गर्नका लागि मात्र प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटभाट गरेको बताए । आफ्नो निजी टेलिफोनबाट विभिन्न दलका नेताहरुसँग आफूले गरेको संवाद नियोजित ढङ्गले गैरकानुनी रुपमा प्रचार गरेर आफ्नो अनुमति बिना वैयक्तिक गोपनीयतामाथि दखल पुर्याउनेहरु सबैलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग मैले गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियोरु यो बहसको विषय बनिरहँदा सभापति कानुनी लडाइँमा हुनुहुन्छ। र उहाँले कानुनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौँ।

सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढङ्गबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु। बिना अनुमति अरूको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध(संहिता २०७४ प्रतिकूल कार्य गरिएको छ।

सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था छ। मैले मेरो निजी टेलिफोनबाट को सँग, के-के संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतवश नियोजित ढङ्गले गैर-कानुनी र अनधिकृत रूपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बदनियतका साथ वैयक्तिक गोपनीयता माथि दखल पुर्याएको हुँदा निजलाई कानुनी कारबाही गरियोस्। कानुनी प्रक्रियामा जाने नै छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us