रास्वपाले पुराना दलसँग तालमेल नगर्ने, नयाँसँग विकल्प खुला

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने रास्वपाले जनाएको छ । पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।

रास्वपा सहमहामन्त्री विपीन आचार्यले पारिवारिक कारणले समय दिन नसक्ने भनेपछि पराजुलीले यो जिम्मेवारी पाएका हुन् । कार्यदलमा ७ देखि ९ जनासम्म रहने पराजुलीले जानकारी दिएका छन ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पुराना दलसँग चुनावी तालमेल नगर्ने कार्यदलका संयोजक पराजुलीले जानकारी दिएका छन । रास्वपाले उपनिर्वाचनका लागि तीनवटा विकल्प अघि सारेको छ । आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैरदलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउने ।

आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने रास्वपाको भनाइ छ । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुँदैछ ।

रास्वपाका नेताहरुका अनुसार आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै निरन्तरताको रुपमा पार्टीले लिएको छ । सभापति लामिछानेलाई २ कात्तिकमा प्रहरीले प्रक्राउ गरेपछि राजनीतिक प्रतिशोध भन्दै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us