काठमाण्डु, १२ कात्तिक– गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने बताएका छन ।
आज (सोमबार) संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने बताएका छन ।
उनले भने, ‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ । कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन, ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् । उनले प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको पनि बताएका छन ।