काठमाण्डु, १२ कात्तिक– प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जाटियालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन ।
जाटियालाई प्रहरीले आइतबार दिउँसो वीरगन्जको लिङ्करोडस्थित गरिमा विकास बैंकमाथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको उनले जानकारी दिएका छन ।
पक्राउ परेको जाटियालाई आइतबार नै अदालतमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता भारतीले जानकारी दिएका छन । वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले पाँच लाख रुपैयाँ भुक्तानी नदिएपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सोही विवादका कारण ठेकेदार कम्पनी आफ्नो पैसा लिन अदालत गएको थियो ।
ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख ३० गते गरेको फैसला अनुसार बिगो भराउन आदेश दिएको थियो । तर, जाटियाले बिगो नभरेपछि पुनः २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को आदेश जारी गरेको थियो ।
जुन आदेशमा अदालतले ६ महिना कैदमा राखेर बिगो असुल गर्ने भनेको थियो । अदालतको यही आदेशको कार्यान्वयनका लागि प्रहरीले जाटियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।