काठमाण्डु, १२ कात्तिक– एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न सबैलाई आह्वान गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले यस्तो आह्वान गरेका हुन ।
उनले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नै नगरी तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गरेको भन्दै त्यस्तो शैलीको विरोध गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका हुन ।
नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीका साथै अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको पनि बताएका छन ।
नेता रावललाई समेत पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टीले लिएको जग्गा दानबारे आलोचना गरेकोमा स्पष्टीकरण सोधेको थियो । नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जवज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !