चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्ने तयारी गरीएको हो ।

मन्त्रिपरिषद्को बैठकले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

१०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो । नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दा आएको छ ।

तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।

अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल टेन्डरमा चिनियाँ कम्पनीले ठेक्का प्राप्त गरेपछि कम्पनीसँग आशयपत्र माग गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us