गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन । आज आइतबार गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको पनि बताएका छन । उनले भने, ‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नु भएको छ, ‘गैर आवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् ।

तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’ उनले गैर आवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरूले उत्कृष्ट काम गरिरहेको पनि बताएका छन ।

उनले भने, ‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ ।’

यस्तै गैर आवासीय नेपालीको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us