एनआरएनएमा राजनीति नगर्न प्रधानमन्त्रीको सुझाव

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका छन ।

एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन । ओलीले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’

एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत उनले बताएका छन । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताएका छन ।

अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने पनि उनले बताएका छन । ओलीले भने, ‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईंहरुले नै सुझाव गर्नुस्, योयो गरिदिनुस् भनेर, हामी गर्छौं’ ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनु छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us