रविमाथि इजलासमा दुर्व्यवहार भएको भनाइप्रति कास्की प्रहरीको आपत्ति

काठमाण्डु टुडे २०८१ कार्तिक ११ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– सहकारी ठगी प्रकरणमा प्रकाउ परेर प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोपप्रति कास्की प्रहरीले आपति व्यक्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि कास्की प्रहरीले अनुरोध गरेको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौं पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् । उनलाई सोही दिन राति पोखरा लगिएपनि शनिबार सार्वजनिक बिदा भएकाले ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

सोही क्रममा रविको पक्षमा वकालतका लागि केही व्यक्तिले इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us