काठमाण्डु, १० कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाटभटेनी सुपरमार्केट आफ्नो भन्ने वर्षौंदेखिको आरोप प्रधानमन्त्री केपी ओलीले गलत सावित गरिदिएको बताएका छन् ।
पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले त्यसका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।
ललीतानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा संलग्न रहेको आरोपमा आफ्नै सरकारले कारबाही गर्दा पनि भाटभटेनी प्रचण्डैको हो भनेर आफूलाई हैरान पारिएको उनको भनाइ थियो ।
ओलीले मीनबहादुर पहिल्यैदेखि एमाले कार्यकर्ता रहेको बताउँदै हिंडेकाले भाटभटेनीसँग जोडेर आफूमाथि लाग्दै आएको पखालिएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे ।
‘हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्धा चलाउँदा पनि भ्रम फैलाएकै थिए । धन्यवाद छ केपीजी । मैले बोल्नै परेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमालेमा हुनुहुन्थ्यो भनिदिनुभयो । मैले होइन भन्दा कसैले पत्याउँदैनथे । कसरी क्लियर गर्नेहोला भनेर हैरान थिएँ । केपी ओलीले क्लियर गरिदिनुभयो धन्यवाद दिन चाहन्छु’, उनले भने ।