म थाकेको छैन, काँग्रेस र एमालेजस्ता बेइमानलाई तह लगाउनुछः प्रचण्ड

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ०८४ सालको आमनिर्वाचनमा काँगे्रस र एमालेजस्ता बेइमान र भ्रष्ट दललाई जनताले दण्डित गर्ने बताएका छन् ।

पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले शनिबार राजधानीमा गरेको खबरदारी सभामा बोल्दै उनले ०८४ अघि नै माओवादी घटकहरुबीच एकता गरेर पार्टीलाई ०६४ को अवस्थामा फर्काउने दाबी गरे ।

उनले अबको चुनाबमा काँग्रेस वा एमाले कसैसँग पनि तालमेल नगरी एकलै लडने बताए । ‘हामी फेरि चुनाव तपाईंहरुजस्ता बेइमान र बिचौलिया दलाहरुका संरक्षकसँग मिलेर लड्ने छैनौं । हामीले तपाईंहरुसँग सहमार्य गरेर गल्ती ग¥यौं । हामी जनतातिर फर्कन चाहन्छौं’, उनले भने, ‘पूर्वमाओवादीहरु फेरि एक हुन्छ÷बनाइन्छ र ०८४ सालमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेजस्ता बेइमान र भष्ट पार्टीहरुलाई उचित सजाय जनताकै तहबाट दिइन्छ ।’

उनले आफू ७० वर्ष पुगे पनि जोश भने अझै नघटेको बताए । आफू, आफ्ना अरु नेता, कार्यकर्ता र माओवादीलाई समर्थन गर्ने जनता नथाकेको भन्दै उनले अर्को एउटा नयाँ अभियान थाल्ने घोषणा गरे । उक्त अभियान सशस्त्र जनयुद्ध नभई जनक्राति हुने बताए ।

‘त्यो रिभ्योलुसनबाट दलाल, बिचौलिया र भ्रष्टहरुको शासन अन्त्य हुनेछ र जनताको वास्तविक शासन सुरु हुन्छ । म थोकेको छैन । हाम्रा नेताहरु कोही थोकका छौनन् । हाम्रा कार्यकर्ता र जनता थाकेका छैनन्’, उनले भने, ‘जनताले आफूलाई माया गर्ने माओवादी पार्टी किन फटाहाहरुसँग लागेर बिग्रियो भनेर चिन्ता गरेका छन् । भ्रष्टाचारविरद्ध एउटा अभियान चालउने आँट ममा छ । हुन त म ७० पुगें । किनकिन ७० पुगेजस्तो लाग्दैन । एउटा क्रान्तिको नेतृत्व गर्छु भन्ने आँट मलाई छ ।’

उनले त्यस अभियानमार्फत मार्फत उपलब्धीको रक्षा मात्र नभई थप उपलब्धी हासिल हुने दाबी गरे । मुलुकबाट भ्रष्टाचार अत्त्य गर्न चुनावमा करोडौं खर्च गर्ने सिस्टम अन्त्य गर्नुपर्ने औंल्याए । त्यसका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीमा जानुपर्ने उनको भनाइ थियो ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले विज्ञहरुलाई मन्त्री बनाउने व्यवस्था भयो भने भ्रष्टाचारको अन्त्य त्यहींबाट गर्न सकिन्छ । निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाइयो भने त्यहाँ भ्रष्टाचार हुँदैन’, प्रचण्डले भने ।

आफूहरुले विगतदेखि नै जनअधिकारका लागि लडाईं लडेको तथा सत्य पक्ष र जनताको बीचमा भएकाले जित हुने दाबी गरे । उनले सरकारले जनसरोकारका विषय गम्भीरतापूर्वक सम्बोधन नगरे विशाल विरोधसभा हुँदै आन्दोनलमा जाने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us