काठमाण्डु, १० कात्तिक–बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा १९१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ ।
यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।
बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।
पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाण्डुलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए ।