मुक्तिनाथमा लेक लागेर तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १०:३८ मा प्रकाशित

जोमसोम, १० कात्तिक-मुस्ताङमा लेक लागेर दुई विदेशीसहित तीन जनाको मृत्यु भएको छ ।

मुक्तिनाथ दर्शन गर्न आएका  एक अमेरिकन, एक भारतीय र एक नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले बताए ।

मृत्यु हुने नेपालीमा गोरखा नगरपालिका—६ स्थायी ठेगाना भई हाल काठमाण्डुको नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशी छन् ।

मुक्तिनाथ दर्शन गरी फर्किएका अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजरको बिहाबार लेक लागेर मृत्यु भएको हो ।

बिहीबार होटलमा बास बसेका उनी बिहान अबेरसम्म नउठेपछि प्रहरीलाई खबर गरिएको थियो ।

यस्तै शुक्रबार मुक्तिनाथ दर्र्शन गरी फर्किएकी एक भारतीय महिलालाई लेक लागेपेछि मुस्ताङ अस्पताल लगिएकामा चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी बोगटीले बताए । मृतक भारत महाराष्ट्र राज्यको मुम्बई, अधेरी वेष्ट वर्सोवाकी ६९ वर्षीया शारदा महादेव लगडे हुन् ।

मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा लेक लागेर अचेत भएकी उनलाई पनि मुस्ताङ अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us