कांग्रेस उपसभापति भन्छन्ः केपी ओलीले पटकपटक संविधान मिचेकै हुन्

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते २२:०५ मा प्रकाशित

महोत्तरी, ९ कात्तिक- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा शुक्रबार आयोजित कार्यक्रममा खड्काले गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक परिस्थितिमा पार्टीले लिने रणनीतिको निर्णय भएको बताए । 

‘गठबन्धन स्थायी विषय होइन । तत्कालीन राजनीतिक परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो,’ उनले भने ।

खड्काले तत्कालीन प्रधानमन्त्री केपी ओलीले पटकपटक असंवैधानिक तवरले संविधान मिच्ने र प्रतिनिधिसभा विघटन गर्ने गरेका कारण गएको निर्वाचनमा त्यसविरुद्ध उभिएका दलहरुबीच गत निर्वाचनमा गठबन्धन गरेको उनको भनाइ थियो ।

ओलीको कदमविरुद्ध आन्दोलन र असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा गरेको कानूनी लडाइँ, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सर्वोच्च अदालतको परमादेशका आधारमा आफ्ना सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको स्मरण खड्काले गरे ।

खड्काले आगामी ०८४ को निर्वाचनबाट कांग्रेस नेतृत्वमा एकल बहुमतको सरकार बनाउने गरी आफूहरु अघि बढेको खड्काले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us