काठमाण्डु, ९ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा प्रधानमन्त्री ओलीले समान प्रकृतिको अपराधमा फरक निर्णय नहुने बताएका हुन् ।
प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सहकारीमा जुन काम गर्नु भएको छ ९रवि लामिछानेबाट०, त्यस्तै प्रकृतिको अपराधमा अरुलाई जस्तो कारबाही भइरहेको छ, त्यस्तै हुन्छ’ । ती नेताका अनुसार रास्वपाका सभापति रवि लामिछानेको नाम नलिइकन सरकारले लिने निर्णयबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका थिए ।
‘रवि लामिछानेको नामै त लिनुभएन, तर समान प्रकृतिको मुद्दामा अरुलाई जस्तो कारबाही भइरहेको छ, रवि लामिछानेलाई पनि त्यस्तै हुने बताउनुभयो’, उनले भने । प्रधानमन्त्रीको निर्णयमा सत्ता साझेदार अरु कुनै नेताका पनि फरक मत भएन । त्यसपछि सत्ता साझेदार दलहरुको संयुक्त बैठकमा यो विषय समावेश गरिएको उनी बताउँछन् ।
बैठकपछि जारी सात बुँदेको चौथो नम्बरमा रवि लामिछानेको विषय समावेश छ । बक्तव्य मार्फत् सत्तारुढ दलहरुले रवि लामिछानेको पक्षमा भइरहेको सडक प्रदर्शनप्रति असहमति जनाएका छन् ।