भाले ठूलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १७:५२ मा प्रकाशित

एजेन्सी– फ्रान्सको एक परिवारले भाले ठुलो स्वरमा बासेको रिसमा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारी गरेका छन ।

‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर रिकोका मालिकहरूविरुद्ध छिमेकीले मुद्दा हालेका हुन । यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ ।

आफ्नो नाम खुलाउन नचाहने छिमेकीका अनुसार भालेले दिनरातै बासेर हैरानी दिने गरेको छ । ५ वर्षीय रिकोका मालिक फ्रांक भने उक्त आरोप अस्वीकार गर्छन् ।

भाले बस्ने खोरमा अटोमेटिक सिस्टम रहेको र उक्त खोरको ढोका जाडो समयमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे खुल्ने उनको भनाई छ । भालेले बिहानको समयमा करिब एक घण्टामा १५ पटक र दिनमा थप केही पटक बास्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

करिब २५ वर्षअघि सहरबाट बोरगोइँ जालियूँमा सरेका फ्रांक दम्पत्ती आफ्नो छिमेकीको व्यवहारबाट अचम्मित बनेका छन् । उनीहरूले यस विषयमा टाउन हलमा सहमतिको प्रयास पनि गरेका थिए । तर, त्यहाँ कुरा मिल्न सकेन । त्यसपछि छिमेकीले अदालतमा नै मुद्दा दर्ता गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us