काठमाण्डू, ४ कात्तिक- नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट नेपाल प्रकोप प्रतिरोधी विकास नीतिअन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर अर्थात २० अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
सोही बैठकले विश्वबैंक समूहबाटै हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर अर्थात झन्डै १८ अर्ब ९ करोड ऋण सहायता स्वीकार गर्ने विषयमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ ।