युक्रेनविरुद्ध उत्तरकोरियाले १० हजार सेना परिचालन गरेको आरोप

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते ८:०२ मा प्रकाशित

एजेन्सी- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले खुफिया जानकारीलाई उद्धृत गर्दै रुसले किएभविरुद्धको लडाइँमा १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्न तयारी गरिरहेको बताएका छन् ।

उनले यसअघि पनि उत्तर कोरियालाई रुसी सेनामा सैनिक पठाएको आरोप लगाएका थिए तर उनले दिएको यति ठूलो सङ्ख्या यो पहिलो पटक हो।

जेलेन्स्कीले  भने, ‘हाम्रो खुफिया निकायबाट प्राप्त जानकारी’ का आधारमा अनिर्दिष्ट सङ्ख्यामा उत्तर कोरियाली सैनिक यसअघि नै ‘रुसी शत्रुहरूको तर्फबाट कब्जा गरिएको युक्रेनी भूमिमा’ थिए।’

“उत्तर कोरियाका करिब १० हजार सैनिकलाई हामीविरुद्ध लड्न पठाउन तयारी गरिरहेको हामीलाई थाहा छ”, उनले युरोपेली सङ्घ ‘इयु’ का नेतासँगको वार्तापछि ब्रसेल्समा पत्रकारलाई भने ।

जेलेन्स्की रुस विरुद्धको युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’ का लागि समर्थन माग्दै ब्रसेल्समा इयुका नेताहरूको शिखर सम्मेलन र नाटो रक्षामन्त्रीहरूको बैठक दुवैमा सहभागी भएका थिए ।

उनका अनुसार उत्तर कोरियाली सैनिकमा ‘स्थल सेना’ र ‘अन्य रणनीतिक कर्मचारीहरू’ समावेश छन् ।

“यो विश्वयुद्धको पहिलो कदम हो”, इरानले पनि रुसलाई ‘ड्रोन र क्षेप्यास्त्रहरू’ सहयोग गरिरहेको उल्लेख गर्दै उनले चेतावनी दिए । उक्त दाबीलाई तेहरानले बारम्बार अस्वीकार गर्दै आएको छ ।

परिचालनसँग डराउने भएकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली सैनिकहरूमा भर परिरहनुभएको उनले बताए ।

जेलेन्स्कीले आफ्नो पहलको प्रचार गर्न यसै महिनाको प्रारम्भमा वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनसहित पश्चिमी राजधानीहरूको तीव्र दौडाहा गरेका थिए ।

रुसी सेनाले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्रहरू तैनाथ गरिरहेको विशेषज्ञहरूले लामो समयदेखि भन्दै आएका छन् तर मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।

पुटिनले जुनमा प्योङयाङको दुर्लभ भ्रमण गर्दा उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक  रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

मस्को र प्योङयाङ दोस्रो विश्वयुद्धपछि उत्तर कोरियाको स्थापनादेखि नै सहयोगी रहेका छन् र सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अझ नजिक भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us