कैलाली, १ कात्तिक-प्रहरीले कैलालीका विभिन्न स्थानबाट तीन फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
कैलाली जिल्ला अदालतबाट फरकफरक मुद्दामा कसुरदार प्रमाणित भई कैद र जरिवाना तोकिएका प्रतिवादीहरूलाई बुधबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१६ का २७ वर्षीय धर्मसिंह बोहरा, गोदावरी नगरपालिका-८ का ३५ वर्षीय गंगाराम चौधरी र गोदावरी -१ का २५ वर्षीय विनीत बडू छन् ।
अदालतले बोहरालाई ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ५ महिना ३ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
चौधरीलाई चोरी मुद्दामा १ महिना कैद र ४५ हजार ८ सय जरिवाना तोकिएको थियो भने बडुलाई चोरी मुद्दामै २३ दिन कैद र चार हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
निजहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।