अब विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले १० लाख राहत पाउने

काठमाण्डु टुडे २०८१ असोज ३० गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ३० असोज– वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो ।

यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेलेले जानकारी दिएका छन ।

जस अनुसार अब मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइने उनले जानकारी दिएका छन । ‘पहिले मृतक परिवारलाई दिँदै आएको रकम नै कम थियो’, उनले भने, ‘यो पटक राहत रकम वृद्धि गरिएको हो ।’ उनका अनुसार वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

२०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो । पछि रकम वृद्धिबारे अध्ययन गर्न श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले राहत रकम निर्धारण गरिने निर्णय गरेको थियो ।

पछि पूर्व श्रममन्त्री डीपी अर्यालले पनि राहत रकम वृद्धि गर्ने योजनालाई अघि बढाएका थिए । वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतवापत् प्राप्त गर्दै आएका छन् ।बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us