काठमाण्डु, ३० असोज– भोली (बिहीबार) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति र पर्सी (शुक्रबार) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ ।
गएको ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठकहरु बोलाइएको स्रोतले जानकारी दिएको छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेन्डाहरु तय समेत भइसकेका छन । भोली बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा कार्यकारी समिति बैठक बस्नेछ ।
बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरुको अवस्थबारे छलफल गर्ने स्रोतले जानकारी दिएको छ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णयहरु पनि गर्ने सम्भावना छ ।
प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरु लैजाने भन्नेबार छलफल हुने छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद बैठक बोलाएका छन् । बैठकमा बाढी पहिरो प्रभावितक क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुन्छ ।
बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।