सेयर बजार ४३.२२ अंकले वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

काठमाण्डु टुडे २०८१ असोज ३० गते १६:१२ मा प्रकाशित

काठमाण्डु, ३० असोज– सेयर बजार परिसूचक नेप्सेको निरन्तर वृद्धि हुने क्रममा छ । दसैँ बिदापछिको दोस्रो दिन आज (बुधबार) बजार परिसूचक ४३.२२ अंकले वृद्धि भएको छ ।

यो वृद्धिसँगै बजार परिसूचक २७४२.८८ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । आजको बजार खुलेदेखि नै सकारात्मक अवस्थामा रहे पनि परिसूचकमा उतारचढाव भने देखिएको थियो ।

यो उतारचढावसँगै खरिदबिक्री बढ्दा कारोबार रकम ५ अर्ब ६६ करोड पुगेको छ । आज बजारमा १ करोड ३२ लाख कित्ता शेयर किनबेच भएको छ । बजारमा आज २४४ कम्पनीको कारोबार भएकोमा २०६ कम्पनीको सेयर मूल्य बढेको छ । ३५ कम्पनीको मूल्य घट्दा तीनवटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये अपर स्याङ्जा हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने विजय लघुवित्त र इष्टर्न हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज बजार अन्तर्गत सबै परिसूचक र उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै वृद्धि व्यापारमूलक सूचकमा ३.४४ प्रतिशतले भएको छ । हाइड्रोपावर उपसूचक पनि आज २.१३ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार सबैभन्दा धेरै बढेको फाइनान्स समूह भने आज सुस्ताएको छ । यो उपसूचकमा ०.८६ प्रतिशतको वृद्धि देखिएको छ । बजारमा आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्सको १५–१५ करोडको भयो ।

कारोबार भोल्युम आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी सबैभन्दा माथि रह्यो । कारोबार सङ्ख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स नै सबैभन्दा उच्च स्थानमा रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us