ओली सरकारको तीन महिना भ्रष्टाचारीलाई संरक्षण गर्दैमा बित्योः पूर्वमन्त्री साह

काठमाण्डु टुडे २०८१ असोज ३० गते १६:०३ मा प्रकाशित

काठमाण्डु, ३० असोज– पूर्व मन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ३ महिने कार्यकाल पूर्ण रूपमा असफल भएको दाबी गरेका छन ।

उनले प्रधानमन्त्री ३ महिने कार्यकाल भ्रष्टाचारीलाई संरक्षण गर्ने काममात्रै गरेको समेत बताएका छन । बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आज आयोजित शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी साहले यस्तो बताएका हुन । उनले देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्नुपर्ने पनि बताएका छन ।

मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनको दाबी छ । उनले सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्न नसकिने बताएका छन । पूर्व मन्त्री साहले भने, ‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ ।

नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । मुलुकको आर्थिक अवस्था सङ्कटमा छ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन ।

हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ ।’ उनले भने, ‘गिरिबन्धु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक छ ।’

सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको आरोप लगाए। उनले सबै भ्रष्टाचारीहरूलाई कारबाही कहिले हुन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us