बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज ३० गते १४:४९ मा प्रकाशित

काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन ।

आज बुधबार प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने समेत जनाएका छन ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाण्डु जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको समेत बताएका छन ।

उक्त कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागी रहेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us