डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि इलन मस्कले गरे साढे ७ करोड सहयोग

काठमाण्डु टुडे २०८१ असोज ३० गते १४:३६ मा प्रकाशित

एजेन्सी– विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले आगामी ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेरदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर सहयोग गरेको खुलेको छ ।

सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग रकम लिएको खुलेको अमेरिकाका सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।

मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर) का मालिक समेत हुन । सरकारी अनुसन्धान अधिकारीका अनुसार इलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब साढे ७ करोड अमेरिकी डलर रकम दिएको खुलेको हो ।

जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन गरेका थिए । यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए । हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको र्‍यालीमा पनि मस्क सहभागी भएका थिए ।

बटलर ट्रम्पमाथि हमला भएको ठाउँ पनि हो । अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us