काठमाण्डु, ३० असोज– प्रहरीले दशैं टीकाको दिन काठमाण्डु महानगरपालिका–३२, तिनकुनेको गैरीगाउँमा एक यात्रुलाई ठक्कर दिएर फरार भएका चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ स्थायी घर भइ कुपण्डोल बस्दै आएका ४० वर्षीय निरज विष्ट रहेको जिल्ला प्रहरी कार्यलय काठमाण्डुले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–३२ का विनोद महरा भन्ने रामविनय रामको मृत्यु भएको घटनामा संलग्न विष्टलाई आज पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय, काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
सीसी टीभी फुटेज र प्राविधिक विश्लेषणका माध्यमबाट खोजतलास गर्दा मंगलबार उनलाई कुपन्डोलमा फेला पारेर पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई हाल प्रहरी वृत्त, बानेश्वरमा राखिएको एसपी अधिकारीले जानकारी दिएका छन । उनका अनुसार विष्टले चलाएको बा-३ च ९४४ नम्बरको कारले ठक्कर दिँदा राम गम्भीर घाइते भएका थिए । उनले लगत्तै रामलाई केएमसी अस्पताल पुर्याएर फरार भएका थिए । घाइते रामलाई उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।