काठमाण्डू, २९ असोज- एमालेले भाटभटेनी सुपर मार्केटका सन्चालक व्यवसायी मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा भ्रम नफैलाउन चेतावनी दिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार प्रेस नोट जारी गर्दै पार्टी भवन निर्माणका विषयलाई लिएर भ्रम फैलाइएको बताएका हुन् ।
उनले मीनबहादुरसँग कुनै लेनदेन नभएको जिकिर गरे । पार्टी कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम र अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी तथा पार्टी नेतृत्वविरुद्ध बिषवमन गर्ने काम भइरहेको छ प्रेस नोटमा उल्लेख छ ।
‘नेकपा (एमाले) को केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेकखालका भ्रम,अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध बिष वमन गर्ने काम भइरहेको छ,’ प्रेस नोटमा भनिएको छ, ‘तथ्य के हो, एकजना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो । एमालेले ग्रहण गर्यो । तथ्य नवुझी बदनाम नगरौं ।’
पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने र त्यहाँ भवन निर्माण गर्न शिलान्यास गरिएको उल्लेख गर्दै यसमा पार्टी सदस्यको अपमान नभएको दाबी गौतमले गरे । ‘पार्टी सदस्य र मतदाताहरुको अपमान हुने पार्टीले त्यस्तो के काम गर्यो ? उनले भने, ‘सस्तो लोकप्रियताका लागि, मिडिया कन्जम्सन, पव्लिक कन्जम्सनका लागि फगत पेपर वार नगरौं, सोसल मिडियाको दुरुपयोग नगरौं ।’
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले दशैंको टीकाको अघिल्लो दिन गत २५ असोजमा भाटभटेनी सञ्चालक गुरुङले कीर्तिपुरमा उपलब्ध गराएको १० रोपनी १४ आना जग्गामा कार्यालय भवन शिलान्यास गरेका थिए ।
अदालतले भ्याटछलीमा १ अर्ब जरिवानाको फैसला गरेका र बालुवाटारको सरकारी जग्गा भूमाफियासँग मिलेर व्यक्तिका नाममा ल्याइएको प्रकरणमा मुद्धा विचारधाराधीन रहेका मीनबहादुरसँग करोडौं मूल्यको जग्गा लिएको भन्दै एमाले वृत्त र बाहिरसमेत चर्को विरोध भइरहेको छ ।