
एजेन्सी- उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने दुई मुख्य सडक विस्फोट गराएर भत्काइदिएको छ ।
उत्तरले पश्चिमी किनारामा रहेको ग्योङ्गुई लाइन र पूर्वी किनारामा रहेको डोङ्घाई लाइन सडक भत्काएको हो ।
उत्तर कोरियाले दक्षिण कोरियासँग पूर्ण रूपमा सम्बन्ध तोड्ने चेतावनी दिएलगत्तै दुई कोरियाली मुलुक जोड्ने सडक भत्काएको हो ।
दक्षिण कोरियाली सञ्चार माध्यम द कोरिया हेराल्डले गत वर्षदेखि नै उत्तर कोरियाले सीमामा बारुदी सुरुङ बिछ्याउन सुरु गरेको दाबी गरेको छ ।
उत्तर र दक्षिण कोरिया जोड्ने मुख्य सडक वर्षौंदेखि सञ्चालनमा थिएनन् ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडियोमा दुई देशबीचको सीमा क्षेत्रमा सडक विस्फोटबाट उडाइएको देख्न सकिन्छ ।
विस्फोटपछि सडक भत्काउन एक्स्काभेटर र ट्रकहरूसमेत प्रयोग गरिएको समाचारमा जनाइएको छ ।
सडक भत्काएपछि दक्षिण कोरियाली सेनाले प्रतिक्रियास्वरूप सो क्षेत्रमा गोलीबारीसमेत गरेको सीएनएनले जनाएको छ ।