समावेशीकरणमा अगाडि रहेको भन्दै जेनेभामा नेपालको प्रशंसा

काठमाण्डु टुडे २०८१ असोज २९ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, २९ असोज– राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघका (आइपीयू) का अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको भेटमा नेपालको संघीय संसद् र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदानप्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायत विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमहरुले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए र
दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।

भेटका अवसरमा उनले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको बताए ।

भेटमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।
नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।
आइपीयूको सचिवालयलाई अझैं व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए। भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us