काठमाण्डु, २९ असोज- लेबनानमा शान्ति सेनाको क्याम्पमाथि इसरायली सेनाले गरेको आक्रमणप्रति नेपालसहित ३४ राष्ट्रले निन्दा गरेका छन् ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनान (युएनआईएफआइएल) का शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो ।
। त्यसमा नेपालसहित ३४ राष्ट्रले हस्ताक्षर गरेका छन् । द्वन्द्धमा सामेल सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ ।
यस्ता गतिविधि रोक्न र अनुसन्धान गर्न ती देशले माग गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गरी निन्दा गर्नेमा नेपालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एलसाल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनिया छन् ।
विज्ञप्तिमा ती देशले दक्षिणी लेबनान र मध्यपूर्वमा स्थिरता र शान्ति कायम गर्नु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख गरेका छन् ।
आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेस क्याम्पमा हतियारधारी इसरायली डिफेन्स फोर्सले आक्रमण गरेको थियो ।