एमाले कार्यालय निर्माणको विषयले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङको शाख गिरेको छः काँग्रेस नेता खतिवडा

काठमाण्डु टुडे २०८१ असोज २८ गते २२:२५ मा प्रकाशित

काठमाण्डू, २८ असोज- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सरकार नेतृत्वकर्ता एमाले केन्द्रीय कार्यालय निर्माणका लागि करोडौंको जग्गा दिएको र उनैले ९ तले पार्टी कार्यालय भवन बनाइदिन लागेको विषयमा सत्ता साझेदार काँग्रेस नेताहरुले पनि आपत्ति जनाउन थालेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमाले कार्यालय निर्माणको विषयले प्रधानमन्त्री केपी ओली र व्यवसायी गुरुङको शाख गिरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत खतिवडाले सामाजिक सञ्जालमार्फत ओली र गुरुङको आलोचना गरेका हुन् ।

एमाले कार्यालय निर्माणको विषयमा नलेखी बस्न नसकेको खतिवडाले बताए ।

‘नेकपा (एमाले) को पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली र समाजसेवी मीनबहादुर गुरुङ दुवैको शाख उठेन । के हुँदैछ आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन,’ खतिवडाले भनेका छन् ।

बाढीपहिरोले जनता मारमा परेका बेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको पार्टीलाई व्यापारीले अर्बौंको पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने विषय राम्रो नभएको उनको भनाइ छ । खतिवडाले ओली र गुरुङ दुवैलाई विपत्ती पीडितलाई सहयोग गरेको भए कति राम्रो हुने सुझाव दिए ।

‘यो समयमा विपत्ती पीडितलाई दुवै जनाले सहयोग गरेको भए कति राम्रो हुन्थ्यो होला ?’, खतिवडा भन्छन् ।

भाटभटेनी सञ्चालक व्यवसायी गुरुङले कीर्तिपुरमा एमाले  कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए । सोही जग्गामा प्रधानमन्त्री ओलीले १७ असोजमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास गरेका थिए ।

गुरुङले आगामी वर्षको दशैंमा ९ तले सुविधा सम्पन्न भवन निर्माण गरी एमालेलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us