डेंगुका बिरामीले भरियो अस्पताल, भूईंमा राखेर उपचार गरिंदै

काठमाण्डु टुडे २०८१ असोज २७ गते २०:२१ मा प्रकाशित

तनहुँ, २७ असोज- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् ।

अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।

पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । ‘विरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई भर्ना गरेर राख्न सकिएको छैन ।

विशेष गरेर डेंगुका विरामीको चाप अनपेक्षितरूपमा बढेको छ’, उनले भने । अस्पतालको स्तरोउन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिए पनि सुनुवाई नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ । व्यास–१,२, ३, ४ र ५ मा डेंगुका विरामीको सङ्ख्या दिनप्रतिदिन बढीरहेको छ । अस्पताल आएका विरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us