काठमाण्डु, २७ असोज- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल महाशाखाले जनाएको छ ।
नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।
महाशाखाले शनिबारदेखि नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको थियो ।
आइतबार बिहान कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
आइतबार दिउँसो मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति लुम्बिनि प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।