झापा, २७ असोज- झापामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
केर्खाबाट दमकतर्फ जाँदै गरेको को२७ प३५१३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ अमलडाँगीमा गएराति १२ बजे अनियन्त्रित भई आफैं पल्टिएर दुर्घटना भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल दमक अस्पताल लगिएकामा चिकित्सले तत्काल मृत घोषित गरेका थिए ।
तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।