कोहलपुरमा टाउकोबिनाको शव भेटियो, सिसीटिभी फुटेजमा देखिए टाउको बोकेर हिंड्ने व्यक्ति

काठमाण्डु टुडे २०८१ असोज २७ गते ११:५६ मा प्रकाशित

बाँके, २७ असोज- बाँकेको कोहलपुरमा एक युवकको टाउको बिनाको शव भेटिएको छ ।

कोहलपुर नगरपालिका–८ बंगलाटोलको भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए । 

आइतबार बिहान पौने २ बजेतिर विभत्स रुपमा हत्या गरिएको टाउको बिनाको शव फेला परेको उनले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार मृतक सामान्य मजदुरी गरी जीवनयापन गर्दै आएका थिए ।

घटनास्थल नजिकै  सिसी टिभी क्यामेराममा एक जना व्यक्तिले रातको समयमा कालो प्लास्टिकको झोला बोकेर हिँडिरहेको दृष्य देखिएको छ ।

प्रहरीले ती अज्ञात व्यक्तिले मृतकको काटिएको टाउको बोकेर गएको आशंकामा सुक्ष्म अनुसन्धान अघि बढाएको छ ।

शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us