चुच्चे नक्सा राख्न डराएर दशैंमा नयाँ नोटको छपाई नभएको खुलासा !

काठमाण्डु टुडे २०८१ असोज २३ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, २३ असोज– यो वर्षको बडादशैंमा सर्वसाधारणले टीकासँगै दक्षिणामा नयाँ नोट लिन दिन पाउने छैनन् ।

नेपाल राष्ट्रबैंकले हरेक वर्ष नयाँ नोट छाप्दै आएको थियो । तर, यो वर्ष केन्द्रीय बैंकले नयाँ नोट नछाप्ने र सटही नदिने निर्णय ग¥यो । बैंकले यो वर्ष चलनचल्तीकै नोट प्रयोग गर्न आग्रह गरेको छ ।

टीका लगाएर दिन र पूजाआजा गर्न नयाँ नोट प्रयोग गरिन्छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले यसपटक प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने बताए ।

तर, किन त्यसो गरियो भन्नेमा राष्ट्रबैंक र सरकारी अधिकारीहरुसँग स्पष्ट जवाफ छैन । ‘अरु केही होइन, यसअघि छापिएकै सफा र सुकिलो नोटको प्रयोग गर्दा फरक पर्दैन भनेर हो’, पोखरेल भन्छन् । नोटको माग अत्याधिक हुने र सटही व्यवस्थापन झण्झटिलो हुने भएकाले पनि यसपटक नयाँ नोट नछापिएको तर्क उनको छ ।

चाडपर्वको समयमा ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्याधिक हुने गर्छ । बाहिर जे पनि नयाँनोट नछाप्नुको भित्री कारण अर्कै छ । त्यो हो चुच्चे नक्सा । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सय दरका नोट पछाई गर्दा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा प्रयोग गरेको थयो ।

तत्कालीन सत्ता सहयात्री एमाले अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी ओलीले दबाबमा उक्त निर्णय गरिएको यसअघि नै सार्वजनिक भएको थियो । त्यसमा छिमेकी भारतले अनौपचारिक रुपमा असन्तुष्टि जनाएको थियो ।

संघीय संसदले ७ जेठ २०७७ मा सर्वसम्मतिमा पारित गरेको नयाँ नक्सा सरकारी कामकाजमा यसअघि नै प्रयोगमा आइसकेको भए पनि नोटमा भने प्रयोग गरिएको थिएन । हाल एक सय दरका ३३ अर्ब ५० करोड रुपैयाँ बराबरका नोट बजारमा चलनचल्तीमा छन् । राष्ट्रबैंकलाई नोटको डिजाइन, साइज परिवर्तन गर्न तथा नयाँ अंकित चिन्ह राख्न मन्त्रिपरिषदले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।

यसपटक पनि बैंकले ५ देखि ५० सम्मका नयाँ नोट छापईका लागि मन्त्रिपरिषदको स्वीकृति मागेको थियो । तर, अहिने नगर्ने भन्दै मन्त्रिपरिषदले स्वीकृति नदिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘राष्ट्रबैंकले सय दरका नोटमा जस्तै ५, १०, २० र ५० दरका नोटमा पनि नयाँ नक्सा राख्ने प्रक्रिया अगाडि बढाएको थियो’, ती अधिकारीले भने, ‘मन्त्रिपरिषदबाटै अनौपचारिक रुपमा अहिले नगरौं भन्ने कुरा आयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us