काठमाण्डु, २२ असोज– साताको कारोबारको आज तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । आज बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो ।
आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ ।
३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको हो ।
म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज बजारमा सेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन ।
बजारमा आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा भने नेपाल फाइनान्स सबैभन्दा अगाडी रहन सफल भयो । आजको गिरावटसँगै बजार पुँजीकरण ४३ अर्बले घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ ।