
काठमाण्डु, २२ असोज– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले श्रमिक नेपालको आर्थिक शक्ति भएको बताएका छन । आज मंगलबार काठमाण्डुमा आयोजित अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघको एसिया प्रशान्त क्षेत्रको २६ औं सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले सरकारले सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको सामाजिक–आर्थिक शक्तिका रुपमा आत्मसात गरेको पनि बताएका छन ।
मन्त्री पौडेलले श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने नीति समेत लिइएको पनि बताएका छन । सामाजिक सुरक्षा कोषको स्थापना गरी सबै श्रमिक एवम कामदारलाई कोषको दायरामा ल्याइ भरपर्दो सामाजिक सुरक्षा प्रणाली स्थापित गरिएको समेत उनले बताएका छन ।
उनले भने, ‘श्रमिक र उद्यमी व्यवसायीबीच सु–सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोत्साहन गर्ने नीति लिइएको छ, श्रम सम्बन्ध सुधारका लागि श्रम सम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित छ ।’
आजको दिनमा श्रमिकलाई सबैभन्दा आवश्यकता प्रभावकारी सामाजिक सुरक्षाको रहेको समेत उनले बताए । श्रमिकले आफ्नो जीवनलाई सम्मानित बनाउन सम्मानजनक पारिश्रमिक पाउनु पर्ने भन्दै उनले यसलाई समयानुकूल समायोजन गर्ने नीति सरकारको रहेको उनले दाबी समेत गरेका छन ।
बैठकमा अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघका महासचिव लक्षण बस्नेतले नेपालले सामना गर्ने हरेक श्रमिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
नेपालसहित सम्पूर्ण एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनका समस्याहरू श्रमिकहरूले भोगिरहनु परेको छ। तर नेपाल सरकार भने श्रमिकको मुद्दामा कम सक्रियता छ। अब श्रमिकको जिम्मेवारी पूर्ण रुपले निभाउनु जरूरी छ ।’