काठमाण्डु, २२ असोज– मेलम्ची पानी आजदेखि काठमाण्डुमा आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले जानकारी दिएका छन ।
मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने भएको छ । मन्त्री यादवले भने, ‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ ।
पानी आज साँझसम्म काठमाण्डुका धारामा झर्छ । ११ असारदेखि मेलम्ची पानी काठमाण्डु पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो ।
असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सोमाबर सहमति भएको छ । योसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ ।
आन्दोलनरत मेलम्ची संघर्ष समितिसँग वार्ता गर्न खानेपानीमन्त्री यादव सहित टोली सोमबार मेलम्ची पुगेको थियो । हेलम्बु गाउँपालिका मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज माग सम्बोधन गर्ने सहमति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिएका छन ।
सरकार र संघर्ष समितिबीच सहमति, मेलम्चीको पानी मंगलबार सुन्दरीजल पठाइने । वार्तामा काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बिक्री गरेको मेलम्ची पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने मागमा मन्त्रालय र सरोकारवाला निकायबीच छलफल गरी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ ।
त्यस्तै हेलम्बु मेलम्ची एकीकृत जलाधार तथा क्षेत्र विकास परियोजना गठन प्रस्ताव यथाशीघ्र मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी कार्यान्वयनमा खानेपानी मन्त्रालयले पहल गर्ने सहमति समेत भएको छ ।