प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकले दियो दुई करोड

काठमाण्डु टुडे २०८१ असोज २० गते १३:५७ मा प्रकाशित

काठमाण्डु, २० असोज– नेपाल बैंक लिमिटेडले गएको सता भएको अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आज आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेका हुन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद समेत दिएका छन ।

साथै उनले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह समेत गरेका छन । यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us