नेपालद्वारा ओमान ५६ रनले पराजित

काठमाण्डु टुडे २०८१ असोज १७ गते ९:३३ मा प्रकाशित

काठमाण्डु, १७ असोज– क्यानडामा जारी त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा कप्तान रोहित पौडेलले अलराउन्डर प्रदर्शन गर्दा ओमान नेपालसँग लगातार दोस्रो टी–२० मा पराजित भयो ।
जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ । यो खेलमा क्यानडाले जिते उसले उपाधि उचाल्ने छ । यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायम रहेको छ ।

किंग सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडैल ४४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५६ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन बनाए ।

त्यस्तै देव खनालले १८ रन बनाउँदा आसिफ शेख १६ तथा अनिल साहा ११ रनमा आउट भए । त्यस्तै ८औं नम्बरमा ब्याटिङका लागि आएका कुशल भुर्तेल ११ रनमा पेभिलियन फर्किए। ओमानका लागि फायाज बटले ३ विकेट लिंदा कलिमुल्लाह सकिल अहमेद र अकिब इलियासले समान १–१ विकेट लिए ।

१ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७।५ ओभमार १ सय १ रनमा अलआउट भयो । उसका लागि जेसन मक्सुदको ३५ रन सर्वाधिक रह्यो । उनीबाहेक कप्तान अकिब इलियसले २२ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा प्रतिक अर्थबले १२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिंदा रोहित पौडेलले २ तथा सन्दीप लामिछाने र रिजन ढकालले समान २९२ विकेट लिए ।

आज सिरिजको अन्तिम खेलमा क्यानडा र ओमान भिड्दै छन् । अङ्क तालिकामा नेपाल र क्यानडा समान ४ अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ । ओमान २ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us