बाढीपहिरोबाट १७ अर्ब बराबरको क्षति

काठमाण्डु टुडे २०८१ असोज १६ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, १६ असोज–गत बिहीबारदेखि शनिबारसम्म गएको बाढीपहिरोका कारण १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

यो अनुमान प्रारम्भिक भएको र क्षतिको विवरण संकलनकै क्रममा रहेकाले यो अझै बढ्न सक्ने अनुमान सरकारको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डु, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको उनले बताए ।
कृषि क्षेत्रमा छ अर्ब बढस्को क्षति पुगेको छ ।

५८ हजार ४ सय ७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोड बराबरको धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छी मरेका छन् ।

भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।

बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् । त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरणमा समावेश छ ।

बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us