कोशी ब्यारेजमा पानीको बहाव उच्च, सर्वसाधारणलाई हिंडडुल गर्न रोक

काठमाण्डु टुडे २०८१ असोज १२ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १२ असोज– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

कोशी ब्यारेजमा पानीको सतह ५ लाख ८ हजार क्युसेक मापन गरिएको छ ।

पानीको बहाव उच्च भएपछि कोशी व्यारेज र आसपास क्षेत्रमा सर्वसाधारणलाई हिंडडुल गर्न रोक लगाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनले अपिल गरेको छ । नदीबाट दाउरा झिक्न र माछा मार्न रोक लगाइएको छ ।

पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । कोशीमा बाढीको सतह ६ लाख ८१ हजार ६ सय ३९ क्युसेक पुग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us