आन्तरिकतर्फको एउटा पनि उडान भएन,अन्तर्राष्ट्रिय उडान भने सुचारु

काठमाण्डु टुडे २०८१ असोज १२ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, १२ असोज– खराब मौसमका कारण शनिबार पनि आन्तरिक तर्फको हवाई उडान पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बिहीबारदेखिको भारी वर्षासँगै मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि बन्द गरिएको हवाई उडान अझै सुचारु हुन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गर्न निर्देशन दिएको थियो ।

विमानस्थल प्रवक्ता रिञ्जी शेर्पाले बिहानदेखि अहिलेसम्म एउटा पनि आन्तरिक उडान नभएको जानकारी दिए । मौसममा उल्लेख्य सुधार नभए आज पनि उडान स्थगनको सूचना जारी हुने उनको भनाइ थियो ।

आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने सुचारु रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

यद्यपि मौसम खराबीका कारण अन्तर्राष्ट्रिय उडान पनि अवतरणमा समस्या देखिएको छ । भिजिबिलिटी कम भएका कारण शुक्रबार थाइ एयरवेजको विमान दुई घण्टा र इण्डिगो एयरको विमान एक घण्टा आकाशमा होल्ड भएका थिए । केही उडान डाइभर्ट गरिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us